अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सम्पन्न

काठमाडौं, २३ चैत्र । सर्वनाम थिएटरले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । चैत १९ गतेदेखि सुरु भएको महोत्सवको अन्तीम दिन ३ ओटा नाटक प्रदर्शन गरिएको थियो । नेपालको एउटा र हङकङको दुई ओटा नाटकहरु मञ्चन भएका थिए । नेपालबाट बिरेन्द« हमालको निर्देशनमा नाटक “देउकासी” सुरुमा मञ्चन गरिएको थियो । पुरु लम्सालको लेखन रहेको करीब ४० मिनेटको नाटकमा सुशिला थापाले अभिनय गरेकी थिईन् । ६५ वर्षीय अविवाहित महलाको कथालाई नाटकमा देखाईएको थियो ।

पछिल्ला दुई नाटकहरु हङकङको तर्फबाट प्रदर्शन गरिएको थियो । दोस्रो नाटक “सीटी फ्लेस” हङकङकी ईदि लम फुन हिउ को लेखन निर्देशन, तथा अभिनय रहेको थियो । करीब ३० मिनेटको नाटकमा एउटी केटी शहरमा ठाउँ खोज्दै जाँदा कुनै पनि ठाउँ उसले नपाएको कथालाई नाटकमा उतारिएको छ ।

हङकङकै अर्को नाटक “फिप्टी ईअर्स रिमेनिङ अनचेन्ज्ड” मा मक चिउ यु ले प्रस्तुत गरेका थिए । उनकै लेखन, निर्देशन तथा अभिनय रहेको नाटकमा मकले दर्शकहरुलाई मज्जाले हँसाउन सफल भएका थिए ।

कार्यक्रममा बोल्दै लण्डनबाट नाटक मञ्चनका लागि आएका निर्देशक माईकल उडउडले यो महोत्सवले सम्पुर्ण देशहरुलाई एकैठाउँमा भेला गराएको र नेपाललाई नजिकबाट चिन्न सहयोग गरेको बताए । उनले यति ठूलो अवसर दिएकोमा अशेष मल्ल र सर्वनाम परिवार धन्यवाद ज्ञापन गरेका थिए । महोत्सवमा सहभागी सबै स्वदेशी तथा विदेसी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । भारतीय रंगकर्मी अजित दासले सर्वनामबाट आफुले पाएको प्रमाणपत्र कागज मात्र नभई भावना भरिएको भन्दै मञ्चमै भावविहल भएका थिए ।

महोत्सवको समापन गर्दै सर्वनाम थिएटरकी प्रबन्ध निर्देशक डा. सावित्री कक्षपतीले सर्वनामले शुन्य बजेटमा पनि अन्तराष्ट्रिय स्तरको महोत्सवको आयोजना गर्न सफल भएकोमा सम्पुर्ण रंगकर्मी तथा स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेकी थिईन् । उनले सर्वनामको ३६ वर्षसम्मको संघर्षको यात्रा बताईरहँदा दर्शकहरुसमेत भावविहल बने । कार्यक्रम सञ्चालनको भूमिका सम्पदा मल्लले गरेकी थिईन् ।

चार दिनसम्म चलेको महोत्सवमा १४ नाटक मञ्चन भएका थिए । महोत्सवको पहिलो दिन नेपालबाट नाटककार अशेष मल्लको लेखन तथा निर्देशनको नाटक “अतिरिक्त आकाश”, लण्डनका तर्फबाट “द कोट” र चीनबाट “जम्प” प्रदर्शन भएका थिए भने दोस्रो दिन भारतको “ईलादी”, बंगलादेशको “शोनिटर हात (ब्लड ह्यान्ड्स्), स्कटल्यान्डको “द चियर्स वेयर मुब्ड् टु गिभ मी प्यासेज” र फ्रान्सका म्याक्सीमको लेखन तथा निर्देशनमा “पर्फरमेन्स् वीथ मास्क” देखाईएको थियो । थारु समुदायमा भएको कमलरी प्रथाको विषय रहेको नाटकमा नेपालबाट भुमिका चौधरीलाई म्याक्सीमले अभिनय गराएका थिए । त्यसैगरी तेस्रो दिन भारतबाट “रेवती, ईवती, सेवती”, हङकङबाट “डिजायर”, नेदरल्यान्डबाट “सेप्पुकु ः द एन्जल्स् आर ब्याक” र हङकङबाटै अर्को नाटक “प्लेस मि सफ्ट्ली अन द होराईजन” प्रदर्शन भएका थिए ।

बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्याण्ड, नेदरल्याण्डलगायत दर्जन देशका तीन दर्जनभन्दा बढी कलाकार तथा रंगकर्मी महोत्सवमा सहभागी भएका थिए ।