अन्तर विद्यालय फुटबलमा आज सात खेल सम्पन्न, उजुरीको आधारमा एसओएस विजयी

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा कास्की जिल्ला फुटबल संघको संयोजनमा पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय छात्र छात्रा फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ७ खेलहरु सम्पन्न भएका छन् ।

सम्पन्न खेलहरुमा एसओएस, सैनिक आवासिय विद्यालय, शिवशक्ति मावि, सोसल पब्लिक, ताराकुञ्ज, टप्स र स्नो भ्यू विजयी भएका छन् ।

सोमबारको खेलमा एसओएसले पुम्दीको शुक्रराज माविलाई उजुरीको आधारमा पराजित गरेको हो । निर्धारित ६० मिनेटको खेलमा दुवैतर्फबाट ४–४ गोल भएपछि टाई ब्रेकरमा शुक्रराजले ४–३ गोलले एसओएसलाई पराजित गरेको थियो । तर उसले बाहिरी खेलाडी खेलाएको भन्दै एसओएसले उजुरी हालेको थियो । छानविन गर्दा शुक्रराजको टिमले बाहिरी खेलाडी खेलाएको भट्टयाएपछि एसओएसलाई विजयी घोषणा गरिएको कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्र गुरुङ्गले जानकारी दिए ।

अन्य खेलहरुमा सैनिक आवासिय विद्यालयले सिद्ध माविलाई ७–१ गेलले, शिवशक्ति माविले समता शिक्षा निकेतनलाई ४–१ गोलले, सोसल पब्लिकले ताराकुञ्जलाई ३–२ गोलले, टप्सले शान्ति माविलाई ३–० ले तथा स्नो भ्यूले लक्ष्मी आवासिय विद्यालयलाई ७–० गोलले पराजित गरेको हो ।

प्रतियोगिता अन्तर्गत मंगलबार पनि छात्रतर्फकै पहिलो चरणका खेलहरु हुने प्रतियोगिता संयोजक विश्व तण्डुकारले जानकारी दिए ।