कास्कीका विद्यालय स्तरिय छात्र छात्रा फुटबल शुरु

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार कास्की जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा विद्यालय स्तरिय छात्र छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमविक्रम रानाले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै एसपी रानाले स्वथ्य र सभ्य समाज निर्णाणका लागि खेलकुदको ठूलो महत्व रहने बताए । कार्यक्रमा बोल्दै एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापाले एन्फामा नयाँ टिम आएकोले अब नेपाली फुटबलको काया पटल हुने औल्याए । त्यस्तै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्गले एन्फा कास्कीको नयाँ कार्यसमितिले फुटबल विकासमा उल्लेख्य कार्य गर्ने विश्वास व्यक्त गर्दै समिति सहयोगका लागि तत्पर रहेको जनाए ।

आयोजक संघका अध्यक्ष मिलन गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक विश्व तण्डुकारले स्वागत तथा महासचिव रमेश कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आदर्शले प्रतिभा माविलाई ४–० गोलले पराजित गरेको छ । अर्को खेलमा बाल प्रभातले मेरि गोल्ड बोर्डिङ्ग स्कुललाई ३–२ गोलले पराजित ग¥यो । प्रतियोगितामा छात्रतर्फ ३८ तथा छात्रातर्फ ८ टिमले भाग लिएका छन् ।