चुनावी सुरक्षा कडा बनाउन सरकारलाई निर्देशन

काठमाडौं, १९ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले चुनावको सुरक्षा व्यवस्था कडा बनाउन सरकारलाई निर्देशन दिएको छ । विज्ञप्तिमार्फत आयोगले दोस्रो चरणमा प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव हुने  जिल्लामा उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण हुँदा उम्मेदवार तथा सर्वसाधरण व्यक्ती घाइते भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता, श्रृंखलाबद्ध बम आक्रमणका घटनाले चुनावी सुरक्षा व्यवस्था कमजोर देखिएको भन्दै आयोगले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको हो । यस्ता घटनाले मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरु तथा नेपालको संविधानमै भएका व्यवस्था तथा शान्तिपूर्ण र भयरहीत वातावरणमा चुनाव गराउन निर्वाचन आयोगबाट दिइएका निर्देशन समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको आयोगले जनाएको छ ।

बम आक्रमणका घटना बढ्दै गएपनि दोषी पहिचान हुन नसक्दा सुरक्षामा गम्भीर चुनौति खडा भएको भन्दै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन, निर्दोष व्यक्तिलाई कुनैपनि आस्थाका आधारमा जथाभावी धरपकड नगर्न र घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेको छ ।

यस्तै, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचित हुन पाउने र जनप्रतिनिधि  छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्न आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *