तोकिएको समयमै प्रदेश र संघको निर्वाचन सम्पन्न हुन्छ : प्रधानमन्त्री

कञ्चनपुर, भदौ १६ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन मंसिरमै सम्पन्न हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको हो । उहाँले मुलुक संविधान कार्यान्वयनतर्फ उन्मुख भइसकेको भन्दै स्थानीय तह अन्तर्गत दुई चरणको निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणमा पनि सम्पन्न हुने तयारी भइरहेको बताउनुभयो ।

सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण उपलब्धिमुलुक भएको दाबी गर्दै भ्रमणका बेला कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण, ७ नम्बर प्रदेशमा प्राविधिक शिक्षालय विस्तार, दार्चुला र डडेल्धुरा जिल्लामा महाकाली नदीमा भारतका तर्फबाट पक्की पुल निर्माणका लागि सम्झौता भएको बताउनुभयो ।

यस्तै, पञ्चेश्वर परियोजनाको एक महिनाभित्र डिपिआर तयार गरेर योजना अघि बढ्ने भन्दै  प्रधानमन्त्री देउवाले यसले सुदूरपश्चिम सँगै समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने दावी गर्नुभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *