त्रिवि सुधार्न क्रान्तिकारीले बुझायो १६ बुँदे ज्ञापनपत्र

काठमाडौं, २० चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा व्यवहारिक, वैज्ञानिक र गुणस्तरीय शिक्षाको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

त्रिविका उपकुलपति तिर्थ खनियालाई बुझाएको ज्ञापनपत्रमा त्रिवि सुधारका मुख्य बुँदा समेटिएको र यी माग पुरा नभए अर्को चरणकोे आन्दोलन गरिने अखिल (क्रान्तिकारी) का केन्द्रीय  सदस्य संघर्ष दाहालले जानकारी दिनुभयो ।

विद्यार्थीले पुसमा सम्पन्न भएको प्रथम सेमेष्टरको परीक्षाफल अहिलेसम्म सार्वजनिक नगरेकोमा आपत्ति पनि जनाएका छन् ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाले विद्यार्थीका माग पुरा गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । अरु विद्यार्थी संगठनका भन्दा फरक माग भएकाले चाँडै नै बैठक बसेर समस्या समाधानको पहल गर्ने आश्वासन पनि उहाँले दिनुभएको छ । टियूको आफ्नो आम्दानि नभएकोले सेमेष्टर सन्चालनमा गाह्रो भएको भन्दै खनियाले परीक्षा सन्चालन र परिणाम घोषणा बारेमा भएको ढिलाईमा तल्लो तहसँग छलफल गरेर चाँडै नै प्रथम सेमेष्टरको नतिजा सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो ।

 

ज्ञापनपत्रका मुख्य बुँदा यस्ता रहेका छन्

१. शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरियोस् । प्रत्येक विभागमा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरियोस् ।

२. हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग सम्बन्धित पर्याप्त पुस्तक, कम्युटर र इन्टरनेट तथा कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन सञ्चालन गरिने व्यवस्था  गरियोस् ।

३. हरेक सेमेस्टरका विद्यार्थीलाई स्थलगत कार्य (Field Work)  र अनुसन्धान (Research) गराउने व्यवस्था अनिवार्य लागू गरियोस् ।

४. सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको प्राध्यापकलाई मात्र सो विषयको अध्यापन गराउने व्यवस्था कडाइकासाथ लागू गरियोस् ।

५. विज्ञान संकायका सबै विभागमा आवश्यक प्रयोगात्मक सामग्री उपलब्ध गराइयोस् ।

६. प्राध्यापक तथा कर्मचारी कार्यालय समयमै कार्यालयमा उपस्थित भइ आफ्नो जिम्मेवारी पूरा गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरियोस् ।

७. हरेक विभागको पुस्तकालय हप्ताको ६ दिन खोल्ने व्यवस्था गरियोस् ।

८. त्रि.वि. केन्द्रीय पुस्तकालय हरेक दिन कम्तिमा १२ घण्टा खुल्ला रहने व्यवस्था गरियोस् । र त्रि.वि. केन्द्रिय पुस्तकालयको आवश्यक भौतिक संरचना नेपाल सरकारकै लागतमा तत्काल निर्माण थालनी गरियोस् ।

९. छात्रा÷छात्रवासमा बस्न बनाइएको मापदण्ड कडाइका साथ लागू गरियोस् र नतीजा प्रकाशनमा समावेशीको सिद्धान्तलाई आत्मसात् गरियोस् । विद्यार्थी संगठनहरुलाई दिइएको अघोषित भागवण्डा तत्काल खारेज गरियोस् ।

१०.छात्रा÷छात्रवासमा इन्टरनेटको व्यवस्था, फोहोर व्यवस्थापन, विजुली बत्तिको व्यवस्था, झ्याल ढोकाको मर्मत सम्भार तथा निर्माण, सफा पिउने पानीको व्यवस्था गरियोस् ।

११. विद्यार्थीको लागि खेलकुद सामग्रीहरु उपलब्ध गराउँदै खेलकुद प्रतियोगीता सञ्चालन गरियोस् ।

१२. हरेक विभाग अन्तर्गत कम्तीमा एक फोहोर राख्ने बास्केटको व्यवस्था गरियोस् । शौचालय, कक्षा कोठाका झ्याल–ढोकाको मर्मत तथा निर्माण गर्नुका साथै उच्छृंखल तथा अनैतिक काम क्रियाकलाप नियन्त्रण गरियोस् ।

१३. त्रि.वि. परिसरलाई काँडेतार वा पर्खाल लगाएर घेरियोस् । त्रि.वि. परिसरभित्र सार्वजनिक तथा अनावश्यक निजी सवारी साधन प्रवेशमा रोक लगाइयोस् ।

१४. हेल्थ सेन्टरलाई व्यवस्थित गरियोस् ।

१५. डिर्पाटमेन्ट अघिको खाली जग्गामा बगैंचा निर्माण गरियोस् ।

१६. विभिन्न विभागले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरियोस् ।