नेपालमा किडनी दिवस (अन्तर्वार्ता सहित)

विनोद लामिछाने / मार्चको दोश्रो विहिबार विश्व किडनी दिवस संसारभर विभिन्न कार्यक्रको आयोजना गरि मनाइएको छ । किडनी दिवसका अवसरमा नेपालमा पनि फरक फरक कार्यक्रमहरुको आयोजना भए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजारको मृगौला बिग्रिने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मृगौला पूर्ण रूपमा फेल हुन्छ ।
शरीरमा हुने भिटामिन ‘डी’लाई क्रियाशील बनाई काम गर्ने स्वरूपलाई परिवर्तन गर्ने कार्य पनि मृगौलाले गर्दछ । भिटामिन ‘डी’को क्रियाशील रूप भएपछि शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन आउँछ । जसले गर्दा हाम्रो शरीरमा भएका हड्डीहरू बलियो हुनुका साथै शरीरमा क्याल्सियम र फोस्फोरसको मात्रा नियन्त्रणमा रहन पुग्छ । सामान्य व्यक्तिको शरीरमा दुईवटा सिमी आकारका करिब १० सेमि लामा दुईवटा मृगौला मेरुदण्डको दाँया–बाँया करङमुनि मिलेर बसेका हुन्छन् ।
मृगौला दिवसका अवसरमा पोखराको गण्डकी मेडिकल कलेजले पनि दिवसका अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । अस्पताल परिषरमै भएको कार्यक्रममा ब्लड प्रेशर, मोटोपना, सुगर, पिसाब तथा मृगौला जाँच गरिएको हो । कार्यक्रममा सय बढिले स्वास्थ्य परीक्षण गराए । गण्डकी मेडिकल कलेजका मृगौला रोग विशेषज्ञ डा.क्लारा पौडेलको संयोजकत्वमा भएको सो कार्यक्रममा मेडिकल कलेजका विद्यार्थीहरुले पनि स्वास्थ्य परिक्षणमा सहयोग गरेका थिए । यसैक्रममा हामीले डा.क्लारा पौडेलसँग मृगौला रोगका बारेमा कुराकानी गरेका थियौं ।

हाम्रो शरिरमा मृगौलाको महत्व कत्तिको छ र यसले के काम गर्दछ ?
शरिरका अन्य अंगहरुको महत्व जत्तिको छ, मृगौलाको महत्वपनि त्यत्तिकै छ । मृगौलाको मुख्य काम शरीरमा रहेका ‘मेटाबोलिजम’बाट उत्पादन हुने विकारहरू शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । त्यस बाहेक मृगौलाले शरीरमा पानी र लवणको मात्रा मिलाउन, क्याल्सियम र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउन, मांसपेसी र नसाहरू चल्नका लागि शरीरमा सोडियम, पोटासियमको मात्रा मिलाउन, रगत बनाउने हार्मोन, रक्तचाप नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ । मृगौलाले विकारहरूलाई पिसाबको माध्यमबाट फाल्छ भने, लवणहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस जस्ता तत्वलाई मिलाउने काम गर्दछ । जुन हाम्रो शरीरका प्रत्येक कोषका लागि महत्वपूर्ण छ ।

अहिले पोखरामा मृगौला रोगको अवस्था कस्तो छ ?
एक दशक पहिलेको तुलनामा अहिलेको अवस्था राम्रो छ भन्न मिल्छ । किनकी त्यतिबेला पोखरामा डायलोसिस् गर्नका लागि मात्रै दुई वटा मेशिन थिए । अहिले ३० वटा मेशिन छन् । पोखराकै विभिन्न पाँच अस्पतालमा डायलोसिस् हुने गरेको छ । सरकारले पनि डायलोसिस्मा निःशुल्क घोषणा गरेको छ । यसले गर्दा पनि मृगौला विरामीहरुलाई अहिले धेरैनै सुविधा मिलेको छ ।

खास गरि कस्ता मानिसहरुमा मृगौला सम्बन्धि रोग देखिने गरेको छ ?
ब्लड प्रेसर, सुगर भएका मानिसहरुमा पछि गएर मृगौला सम्बन्धि रोग देखा पर्ने गरेको छ । अझै बैदेशिक रोजगारका लागि खाडी मुलुक जानेहरुमा पनि मृगौला सम्बन्धि रोग देखा पर्ने गरेको छ । किनकी उनीहरु जानेबेलामा स्वास्थ्य परिक्षण सम्बन्धि नक्कली कागजात मिलाएर पनि जाने गर्दछन् । त्यहाँ पुगेपछि कडा परिश्रम गरे पनि सो अनुसार पर्याप्त पानी नपिउनाले धेरैको मृगौला फेल हुन्छ । मृगौला राम्रो बनाउनका लागि प्रसस्त मात्रामा हरिया सागसब्जी खानु पर्दछ । तर खाडी मुलुकमा हरिया सागसब्जीको सट्टा बढिजसो मासुजन्य पदार्थ खाइने गरिन्छ । त्यसैले पनि कामका लागि त्यहाँ जानेहरुलाई यो रोग लाग्न सक्छ ।

के कारणले गर्दा मानिसहरुलाई मृगौला सम्बन्धि रोग लाग्ने गर्दछ ?
मृगौलामा मुख्यगरि दुई कारणले समस्या देखिने गर्दछ । एकटा मृगौला आफ्नैं कारण । र शरिरका अन्य भागमा रोग लागेमा त्यसका कारणले पनि मृगौलामा खराबी आउन सक्छ । जस्तै मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो सम्बन्धिका विरामीहरुको तिनै रोगका कारण मृगौला बिग्रने पनि पाइएको छ । कसैकसैमा बंसाणुगत जन्मजात पनि यो रोग देखिन सक्छ । आधुनिक जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण मानिसहरुमा मृगौला सम्बन्धि रोग लाग्ने गरेको पाइन्छ । प्लाष्टिकमा प्याक गरिएका खानेकुरा खानु हाम्रो स्वास्थ्यका लागि एकदमै नराम्रो हो । उमालेको पानी प्लाष्टिक बोत्तलमा हालेर खाने गर्दछौं । यसले हाम्रो स्वास्थ्यलाई प्रतिकुल असर गरेको हुन्छ ।

मृगौला सम्बन्धि रोगबाट जोगिन के गर्दा राम्रो हुन्छ ?
मृगौला जोगाउनका लागि हरेक स्वस्थ्य व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्दछ । मृगौला सम्बन्धि रोग भएका वा हुनसक्ने स्वास्थ रहेकाहरूले पनि वर्षको एक पटक मृगौला परीक्षण गरेमा पनि यो रोगबाट बाँच्न सकिन्छ । भनिन्छ नि –‘रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नदिनुनै राम्रो ।’
मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउदा राम्रो हुन्छ । आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान,शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।