पत्रकारिताभित्रका पिडा र प्रवृत्ति

  • – नबराज बराल (लेखक) /        

पत्रिकाको ट्रेसिङ पेपर प्रेससम्म पु-याएर सुत्ने कोठासम्म पुग्दा रातको करिब १ बज्छ । छिटो भएछ भने मात्र ११ बजेतिर सकिएला । सदाझैँ, कोठाबाहिर पुग्दा घरको च्यानलगेट लागेको रहेछ । बाहिर बसेर १५ मिनेटजति फोन हानेँ भित्र भएकाहरुलाई । तर, सबै मस्त निद्रामा थिए । सायद, म आउँछ र च्यानल गेट खोल्न भनि फोन गर्ला भनेर साइलेन्टमा राखेकोले होला, कसैले फोन उठाएनन् । गेटको चापी नक्कली बनाउँ पनि सधैँ फेरिराख्छन् । कति सक्ने ?

अन्तै कतै जाऊँ कि सुत्न ठानेँ । यसबेला राती….अन्त पनि कसलाई दुःख दिने ! सोचेर गेटको घण्टी बजाएँ । १० मिनेट जति घण्टी बजाएपछि घरभेटी आए र गेट खोले । उनले भने–‘सर, यति राती आउनेलाई कोठा दिन सकिँदैन । अप्ठेरो नमान्नुहोला, अन्तै कोठा खोज्नुस् ल !’
‘हुन्छ सर’– मैले भनेँ – ‘मैले शुरुमा पनि त भनेको थिएँ नि सर, बेलुका ढिलो हुन्छ भनेर !’ उनले झर्किँदै भने –‘यति ढिलो होला जस्तो नलागेर दिइहालेँ !’ मलाई पनि झोँक चल्यो । ‘सर, हजुरको मात्र छैनन् क्यारे घर । म पनि घरै नभएको मान्छे त होइन, भलै यहाँ भएन’– यहि भनेँ मैले । उनलाई पहिले नै थाहा थियो म एउटा दैनिक पत्रिकाको सम्पादक हुँ भन्ने ।

यसबेला राती आउनुपर्ने विचरा ! भनेर दुःख साट्लान् भन्दा त उल्टै टर्रो अभिव्यक्ति दिएपछि त रिस पनि उठ्दो रहेछ । सोचेँ, मैले कुनै बेतुकका कामका निम्ति मध्यरात बनाएको पनि त होइन । कति स्वार्थी छ है यो दुनिया ? समाजमा भएका घटना, खबर र विचारहरु प्रवाह गर्नेजस्तो महत्वपूर्ण काममा समेत साथ दिँदैन । भलै, यो पेशालाई साथ त दिएन तर त्यसको मानवियता कहाँ गयो होला ? मान्छे आफू मस्त निदाउन चाहन्छ तर अरुको निम्ति मध्यरातमा पनि बाहिरै सुत्नुपर्ने स्थितीमा २ मिनेट समय दिनुपर्दा झर्किन्छ । बासै उठाउँछ । त्यो घरमा त्यहि रात पनि सुत्न मन लागेन । नसुतुँ पनि कहाँ जाने त्यसबेला ? कोल्टे फेर्दाफेर्दै बिहानीपख भने निदाएछु ।

बिहान उठ्नेबित्तिकै एकजना साथीलाई भेट्नको लागि फोन गरेँ । भेटपछि चिया लिनेबित्तिकै उनले भने – ‘यो पत्रकार, पुलिस र राजनीतिकर्मीलाई विश्वासै गर्दैन कस्सैले । बरु, कुनै अन्य व्यवसाय गर्नुस् न यार ! पैसा भयो भने यी तिनैथरी पछि लागिहाल्छन्, एकैछिनमा आफ्ना हुन्छन् । तर, शिक्षण पेशा छोडेर ठिक गर्नुभएन ।’

कोठा खोजिदिनुस् भन्नको लागि भेटेको साथीले भेट्नेबित्तिकै आफूले गरिरहेको पेशाप्रति नै अपमान हुने गरी गरेको कुराले मेरो मन दुखायो । उसको कुरा सुनिसकेपछि मलाई आफ्नो काम बताउन मन लागेन, नत उसले भेट्नुको कारण नै सोध्यो । उसँग छिटो छुट्टिन पाएजस्तो मात्र भयो । चिया पिइञ्जेलको समय पनि निकै लामो लाग्यो । उसँग छुटेर सरासर आफू सर्न चाहेको कोठामा पुगेँ र अन्तरसंवाद गर्न थालेँ ।

सोचेँ…साँच्चै यी पेशामा विसंगती त अति छ तर उसले भनेको जस्तै हो त ? केहि गतल पात्र र प्रवृत्तिको कारण यो क्षेत्र नै बेठिक भन्ने निष्कर्ष त कसरी निक्लेला र ! अहँ, म उसको कुरामा सहमत हुन सकिन । मलाई लाग्यो र लागिरहेकै छ, समाजको निम्ति सबैभन्दा महत्वपूर्ण पेशा पनि यिनै हुन् । समाज रुपान्तरणका निम्ति सबैभन्दा राम्रा बाटाहरु यी बाहेक अरु छँदा पनि त छैनन् । आखिर, पैसा नै सबैथोक हो त ? किन, मानिसहरु पैसाकै पछि मात्र दगुर्छन् ? यो समाजमा पैसा नहुनेको केहि छैन ? कोहि छैन ? सबैले यस्तै सोचे भने समाज के होला ?

हुनत, हाम्रो समाजमा यस्ता मानिसहरु छन्, जो दैनिक रुपमा दोहोरी साँझ र रेष्टुरेण्ट गएर, जुवा खेलेर हजारौँ रकम खर्च गर्न तयार हुन्छन् तर एउटा दैनिक पत्रिकाको लागि रु. १००० तिरेर बार्षिक ग्राहक बन्न चाहँदैनन् । वौद्धिक भनाउँदाहरु चोक–चोकमा नानाभाँति कुरा गरेर बस्छन् तर समाजमा देखिएका विकृतिका विरुद्ध १००० शव्द लेखेर प्रकाशित गर्न चाहँदैनन् । कुनै सञ्चार माध्यममा गएर १००० शव्द बोल्न सक्दैनन् ।

यी तिनै क्षेत्रलाई अलग राखेर सोचौँ त समाज के होला ? अस्तित्व रहला ? कुनै सञ्चारमाध्यमबिनाको समाजको कल्पना गरौँ त ! सुरक्षाको निम्ति रहेको प्रहरी भएन भने कति भद्रगोल होला ? अनि, राजनीति गर्ने कोहि भएनन् भने कसले बनाउँछ नीति ? तर, यीनै पेशा आजको समाजमा घृणित छन् । कसले बनायो यस्तो ? यस्तो बनाएको पनि यहि पेशामा आवद्ध भएकाहरुले नै त हो ।

हुनत, हरेक पेशामा कमजोरी छन् । नकरात्मक पात्र र प्रवृत्ति छन् । तर, सबै त्यस्तै अवश्य छैनन् । सबैलाई सोलोडोलो एकै ठान्न पनि हुँदैन । नेपाल नै सतिले सराप गरेको देश हो भन्नेहरु पनि तिनै पात्र हुन्, जसको प्रवृत्तिले नै नेपाल गरीबहरुको मुलुक हो भन्ने पहिचान बनायो । भ्रष्ट, दलाल र अराजकहरुको मुलुकको रुपमा चिनायो ।
अधिकांसले आफू मरणशील प्राणी हो भन्ने ठान्दैनन् । चौरासी पूजा लगाएका बुढाबुढीहरु पनि मरिन्न नै ठानेर बिरामी भए भने उपचारको निम्ति अस्पताल पु¥याउन भन्छन् । तर, थोरैले मात्र सोेच्लान्, कुनै दिन अवश्य मरिन्छ, मरेर केहि लाने होइन । जाने बेलामा कति सम्पत्ति छोरानातिलाई छोड्यो ? भन्ने आधारमा मात्र उसलाई बाँचेकाहरुले सम्झने होइन बरु, बाँचेकाहरुका लागि उसले के ग¥यो र के गर्दै थियो ? यहि नै हो उसको अमरत्व ।

जुन क्षेत्र हे-यो, अस्त–व्यस्त छ । सबै पैसाकै निम्ति दुगुरीरहेका देखिन्छन् । बस् यत्ति फरक छ कोहि दुःख गरेर कमाउने तरिका सोचिरहेका हुन्छन् र लागिरहेका छन् त कोहि बिना दुःखका उपायहरु खोजिरहेका छन् र त्यहि बाटोमा छन् । हरेकमा नाफा–घाटाको तराजु सँगै रहेको हुन्छ । यसो गर्दा आफूलाई नाफा हुन्छ कि घाटा ? यहाँबाट मलाई के आउँछ, कति आउँछ, के हुन्छ ? यस्तै प्रश्नहरु सुनिन्छन् ।
मान्छे यति धेरै स्वार्थी बनिसकेको छ कि, उसले आफ्नो बाबा–आमा मर्नु अघि नै उनीहरुको नामको सम्पत्ति आफ्नो नाममा बकस पास गर्ने गर्छ । उसलाई नाताभन्दा पनि सम्पत्ति प्यारो छ । ऊ एक आना जग्गा त्याग्न सक्दैन बरु, सम्बन्ध बिच्छेद गर्न तयार छ ।

अधिकांस स्वार्थी भए भनेर त्यस्तै बन्न खोज्नु ठीक होइन । हरेऊको चरित्रले विश्वास घटाउँछ, पहिचान गुम्छ । वितृष्ठा बढ्यो भनेर गरिरहेको पेशा छोड्ने त ? कुनै समस्या आयो भनेर पेशा नै बदल्ने कि पेशाभित्रको कमजोरीको अन्त्यको निम्ति पहल गर्ने ? एक्लैले पहल गरेर सम्भव छ त ? अहँ ! छैन, सबैले पहल गर्नु जरुरी छ ।
इमान्दारीतापूर्वक काम गर्ने हो भने अहिलेको स्थितीमा पत्रकार बाँच्न समेत मुस्किल छ । यो बाहेक अन्य पेशा भएन भने उसले परिवार पाल्ने खर्चको लागि त ऋण खोज्नुपर्दछ । गाउँबाट चामल मगाएर, कोठाभाडा ऋण खोजेर मात्र शहरमा टिक्न सम्भव छ । उसले नियमित रुपमा तलब पायो भने त्यो खाजा, सञ्चार र यातायातमा ठिक्क हुन्छ । तर, नियमित तलब पाउनेहरु कमै मात्र छन् ।

पत्रकारितामा छरपष्टै देखिने पूर्वाग्रहले यसको विश्वासमा संकट बढाउँदै गएको छ । ‘मिशन’ नै नेपाली पत्रकारिताको मुख्य समस्या र कमजोरी हो । एउटै घटनामा पनि फरक–फरक दृष्टिकोण सहितका समाचारले पाठकलाई आजित बनाउने गर्दछ । कुन ठीक र कुन बेठिक ? कै द्वन्द्वमा पारिरहन्छ । पाठकको प्रतिक्रिया बुझ्ने र व्यक्त गर्ने नै हो भने–‘नेपाली पत्रकारिता भ्रम हो ।’ बचेखुचेको मूल्य–मान्यता पनि हराइसकेका छन् । यसले राजनीतिक चरित्र ग्रहण गर्न थालेको छ । अधिकांस पत्रकारलाई राजनीतिक दलले कार्यकर्ता बनाउन सफल बनेकोले पनि यसमा राजनीतिक चरित्र देखिएको हो ।
जारी नेपाल पत्रकार महासंघको चुनावमा पोषण केसी काँग्रेस र महेन्द्र विष्ट एमाले बनेर प्रतिष्पर्धामा आएपछि के भन्ने ? कसरी बुझ्ने पत्रकारको संस्थालाई ? प्रतिष्पर्धा सुशील कोइराला र झलनाथ खनालको तर उनका प्रतिनिधीले निर्वाचन फेस गरेको जस्तो देखिन्छ । पार्टीका सक्रिय कार्यकर्ताले पत्रकारको संस्थाको नेतृत्व गर्दछन् भने संस्थाको गन्तव्य कता होला ? सोझै छ….उनका मातृ पार्टीका कार्यालयतिर ।

पार्टीले दिएका एजेण्डा बोकेर राजनीति गर्ने नै हो भने किन चाहियो पत्रकारको संगठन ? पत्रकार महासंघ पत्रकारको होइन, राजनीतिक पार्टीहरुको छाता संगठन बनेको छ । यसो भएपछि श्रमजीवि पत्रकारहरुले महासंघमा होइन, राजनीतिक पार्टीका कार्यालयमा धर्ना दिए मात्र श्रमजीवि ऐन लागु हुन्छ । महासंघलाई गुहार्नु र यसको आस गर्नु भनेको लामो बाटो रोज्नु मात्र हो ।
दलले दिएका नारा लिएर श्रमजीवि पत्रकारमाथि उल्टो शोषण गरिरहेका छन् पत्रकारका नेताहरुले । विभिन्न नाममा सञ्चार मन्त्रालयबाट मोटो रकम लिइरहेकै छन् । श्रमजीवि ऐन लागु गराउने भन्दै श्रमजीवि पत्रकारलाई भ्रम दिइरहेकै छन् ।

इमान्दार र काममा प्रतिवद्ध पत्रकारले सेवा गर्दछ तर सो बापत शुन्य आर्जन गर्दछ । तर पनि गरिरहेको काम छोड्न गाह्रो परिरहेको छ । ‘भालुको कम्पट’ जस्तै भएको छ श्रमजीवि पत्रकारलाई यो पेशा । यहाँभित्रको विकृतिको विरोध गर्नेहरु पनि पहुँचवाला र तिनै खराव पात्रको आँखाको तारो बन्ने गरेका छन्् । बाहिर देख्दा के–के न जस्तो तर भित्र अत्यन्तै ठूलो पिडामा रहेर पनि पत्रकारिता गरिरहेकाहरु अधिक मात्रामा छन् । दिनरात नभनी काममा लाग्नु पनि भविष्य विगार्नु जस्तै बनेको छ । यति सम्वेदनशिल र महत्वपूर्ण क्षेत्रमा समेत राज्यको ध्यान पुुगेको छैन भने जनताहरु कसरी सुुसज्जित बन्लान् ? यसर्थ, पनि नागरिकको सूचनाको अधिकारका लागि सञ्चार क्षेत्रप्रति राज्यको विशेष ध्यान जानु जरुरी छ ।