पोखरामा खुल्यो ११ करोडमा अत्याधुनिक वाटर पार्क

पोखरा, २९ चैत्र । पोखरामा पानीमा चिप्लिँदै डुबुल्की मार्ने अत्याधुनिक वाटर पार्क सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग छेउमै पोखरा–१४ को कुँडहर फाँटमा आर्य दि रिसोर्ट एन्ड फन प्रालिले वाटर पार्क ‘बिग स्प्लास’ सञ्चालनमा ल्याएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि केही माथि हिमाल हेर्दै गर्मीमा चिसो पानीमा रमाउन गतिलो गतब्यका रुपमा वाटर पार्क सञ्चालनमा ल्याएको प्रवन्ध निर्देशक अमितराज मुल्मी बताउँछन् ।

‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि शान्त एकान्त ठाउँमा जाऔं, पानीमा खेल्यौं रमाऔं भन्ने गन्तव्य थिएन,’ मुल्मीले भने, ‘अब त्यस्ता पर्यटका लागि रमाउने ठाउँ मिलेको छ । जहाँ बालबालिका, तन्नेरीदखि पारिवारिक मज्जा लिन पाउने छन् ।’

पोखराभित्रै कोलाहलमुक्त वातावरणमा हिमशृंखला, स्वच्छ वातावरणमा रमाउँदै पानीमा मन लागेको खेल खेल्न पाउने अवसर प्रालिले प्रदान गरेको प्रवन्ध निर्देशक मुल्मीले बताए ।

पहिलो चरणको निर्माण सम्पन्न गरी १७ महिनाको बीचमा वाटर पार्क सञ्चालनमा ल्याएको प्रालिका अभिभावक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।

वाटर पार्कभित्र बालबालिका, युवाका लागि छुट्टाछुट्टै छाल र पोखरी बनाइएका छन् । पानीको फोहोरामा नुहाउन मिल्ने कलात्मक रेन्बो पनि निर्माण गरिएको छ । तलमाथि पानीमा चिप्लेटी खेल्ने ट्युब स्लाइडर र कपल चिप्लेटी खेल्ने स्लाइडर पनि पार्कमा व्यवस्था गरिएको छ ।

यहाँ पानीमा चिप्लिँदै खेल्नका लागि कपल तथा सिंगल ट्युबको व्यवस्था गरिएको छ । पुल र स्लाइडमा प्रगोग हुने पानी जमिनमुनि १ सय मिटर बोरिङ गरी निकालिएको छ । पानी निरन्तर फिल्टर र प्रशोधित भइरहने प्रविधि अपनाइएको सञ्चालकको दावी छ ।

‘पोखरा आउने पर्यटकलाई यहाँसम्म ल्याएर मनोरञ्जन दिने यसको प्रमुख उद्देश्य हो,’ महासंघका पूर्व अध्यक्ष अनन्दराज मुल्मीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै त्यहाँ आउने विशिष्ट पाउना र पाइलटका लागि लक्षित गर्दै रिसोर्टसमेत सञ्चालनमा ल्याउने योजनामा छौं ।’

ठूल्ठूला होटल र रिर्सोट खुल्ने क्रमले गति लिइरहेको पोखरामा यो नौलो खालको व्यवसाय भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *