फेशन अवार्ड नेपाल हुने

पोखरा । पोखरामा फेशन अवार्ड नेपाल हुने भएको छ । विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक हुन लागेको हो । ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुनेछ ।

असार २८, २९ र ३० गते हुने कार्यक्रमको तयारी शुरु भएको छ । कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा हुनेछ ।

फेशन क्षेत्रका नयाँलाई प्रोत्साहन र पुरानाको सम्मानका लागि कार्यक्रम फलदायी हुने कार्यक्रम संयोजक रवीन गुरुङको भनाई छ ।

फेशन अवार्डमा फेशन स्टाइल, डिजाईनर र बुटिकका विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिने छ । कार्यक्रममा लोकप्रिय थुप्रै कलाकार र देशभरका फेशन डिजाईनरहरुको सहभागीता रहने छ ।

कार्यक्रममा दर्शकका लागि औपचारिक पोशाक अनिवार्य गरिएको छ । समाजका अगुवा, लब्ध प्रतिष्ठित, उद्योगी, व्यवसायीलाई लक्षित गरी सो कार्यक्रम गरिएको संयोजक गुरुङको भनाई छ । कार्यक्रम स्थलमा जो÷जो देखिन्छन्, सवै औपचारिक पोशाकमा हुने छन् संयोजक गुरुङले भने – ‘नेपालमा पनि यस्तो कार्यक्रम सम्भव छ भन्ने प्रमाणित गर्नेछौं ।’

कार्यक्रम सम्पन्न गर्नका लागि रवीन गुरुङलाई संयोजक र विशाल गुरुङलाई सहसंयोजक तोकिएको छ ।