बजेट बनाउन सुझाव माग्दै प्रदेश अर्थमन्त्री

पोखरा, २ वैशाख । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको आर्थिक अवस्थाबारे आफूहरु अनविज्ञ रहेको बताएका छन् । ‘हामी कहाँ छौँ, हामीलाई पत्तो छैन, हामीसँग तथ्याङ्क र सूचकाङ्क छैन’, प्रदेश नम्बर ४ को योजना तर्जुमा तथा सुझाव संकलनको लागि आइतबार पोखरामा आयोजना गरिएको गोष्ठीमा बोल्दै उनले भने, ‘हामीले पोखरालाई पर्यटनको राजधानी भनेका छौँ, कूल ग्राहस्थ उत्पादनमा कति योगदान छ त्यो पनि थाहा छैन ।’
तथ्याङ्कहरुको अभावमा नीति निर्माणमा असर परेको उनले स्वीकारे । मन्त्रालय तथ्याङ्कहरुको खोजीमा रहेको र यहाँको वास्तविकता बुझेर नै आर्थिक वर्ष २०७५÷०७६ को बजेट निर्माण गरिने उनको भनाई थियो ।
केन्द्रीय सरकारले दिएको १ अर्व २ करोड रकममा टेकेर तीन महिनाको लागि आउने बजेटलाई उनले पुरक वा आवधिक नभएर ऐतिहाँसिक बजेट हुने जिकिर गरे । संघीयता कार्यान्वयनको लागि आउने बजेटमा विकास निर्माणका कामहरुलाई खासै रकम विनियोजन नहुने प्रष्ट पारे ।
प्रदेश नम्बर ४ को आर्थिक मामिला तथा योजना मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपले सो कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले संघीय प्रणालीको कार्यान्वयनको चरणमा निजी क्षेत्र आशा र आशंकाले घेरिएको बताए ।
सो अवसरमा आफ्नो मन्तव्य राख्दै प्रदेश नम्बर ४ का सभासद विन्दुकुमार थापाले प्रदेशमा देखिएको पूँजी अभाव कम गर्न अन्तर्राष्ट्रिय बैंकहरुलाई भित्र्याउन पहल गरिनुपर्नेमा जोड दिए । जग्गा प्राप्ति र मुआब्जा बितरणमा देखिएको समस्या समाधानको लागि छिट्टै ऐन ल्याउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं मानार्थ सदस्य अशोक पालिखेले तनहुँको खैरेनीदेखि सुस्तासम्मको राजमार्गको स्तरोन्नतिको लागि विशेष पहल चाल्न आग्रह गरे ।
पोखरामा क्रिकेटको स्टेडियम निर्माण गरी खेल पर्यटनको विकास गर्नुपर्ने, पोखरालाई शैक्षिक, स्वास्थ्य एवं पर्यटनको केन्द्र बनाउनु पर्ने, व्यवसायीहरुलाई अनुगमनको नाममा अनावश्यक दुःख दिन नहुने लगायतका सुझाव पनि उनले दिए ।
आफ्नो १९ बुँदे सुझाव पेश गर्ने क्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले न्यून बिजिकीकरणको अत्य हुनुपर्ने, घरभाडा सम्बन्धमा देखिएको समस्या समाधान हुनुपर्ने, कर मैत्री प्रशासन यन्त्र निर्माण, साना उद्योगलाई प्रोत्साहन एवं कृषि उद्योगमा कर छुट, फेवाताल लगायतका तालहरुको संरक्षण लगायतका मुद्दाहरु उठाएका थिए । व्यवसायीहरुलाई कर तिरेको आधारमा राज्यबाट सम्मान मिल्नुपर्नेमा उनको जोड रहेको थियो ।
ओम बैंकका कार्यकारी प्रमुख विश्वमोहन अधिकारीले सामान्य वाइफाई निःशुल्क क्षेत्रको उद्घाटनमा समेत मुख्यमन्त्री र मेयर जानु अनुत्पादक क्षेत्रलाई बढावा दिनु भएको आरोप लगाए ।
कार्यक्रम संचालनको क्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले उद्योग दर्ता र बन्द गर्दा बेहोर्नु पर्ने झण्झटबाट व्यवसायीलाई मुक्ति दिने वातावरण निर्माणको माग गरे । कार्यक्रममा तनहुँ, नवपुर, म्याग्दी,लमजुङ, मनाङ, पर्वतलगायतका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधीहरुले आ–आफ्नोतर्फबाट लिखित तथा मौखिक सुझावहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *