मजदुरमाथि समस्या हुन दिन्न : थापा

पोखरा । प्रदेशसांसद विन्दुकुमार थापाले ४ नं प्रदेशमा मजदुरमाथि समस्या हुन नदिने बताएका छन् । वर्तमान अवस्थामा नेपाल यातायात मजदुर संघको भूमिका विषयक अन्तक्र्रियामा बोल्दै सांसद थापाले पेशालाई मर्यादित बनाउन व्यवसायीलाई अनुरोध गर्दै यातायात मजदुर एक ढिक्का हुन अनुरोध गरे ।

यातायात मजदुर संघ प्रदेश नं ४ का अध्यक्ष किरणबाबु पन्तको अध्यक्षतामा भएको अन्तक्र्रियामा नेपाली कांग्रेसका नेता थापाले सरकार र यातायात महासंघबीच भएको सम्झौतामा मजदुरको अधिकार हनन् हुन नदिनेमा प्रतिवद्ध भएको बताए । मजदुर मैत्री प्रदेश नं ४ बनाउन आफ्नो पार्टी नेपाली कांग्रेस क्रियाशील भएर लागेको बताउँदै समस्याहरु संसदीय दलको कार्यालयमा ल्याउन अनुरोध गरे । यातायात मजदुर संघका प्रदेश सचिव अर्जुन खनालको सञ्चालन र जिल्ला अध्यक्ष दामोदर पण्डितको स्वागतमा भएको अन्तक्र्रियामा नेपाली कांग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले मजदुरलाई देखाउनेमात्र शैली राजनीतिमा हाबी भएको बताए । उनले मजदुरको समस्या समाधान नगरेसम्म कुनैपनि राष्ट्रको प्रगति र उन्नति नभएको स्पस्ट पारे । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं ४ का अध्यक्ष मुरारी शर्माले कालो बजारीयाले गाडी सञ्चालन गरेकाले वर्तमान समस्या आएको बताए । सरकारले नीतिगत निर्णय नगरी मनोमानी ढंगले स्वारोजगार व्यावसाय गर्नेलाई निरुत्साहित बनाएको आरोप लगाए । यातायात क्षेत्र सेवा र आयमूलक भन्ने बुझाउन नसक्दा पूराना गाडी हटाउनमा कमिसनको चक्करले वर्तमान सरकारले सिन्डिकेटका नाममा व्यावसायी र मजदुरलाई पीडा दिएको बताए । ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष विजयराज भण्डारीले जे–जे भनेपनि मजदुरको पक्षमा राजनीतिक दलले काम नगरेको आरोप लगाए । सरकारले भन्दापनि केही माफियाको आर्थिक चलखेलमा मजदुरमाथि अन्याय गर्दै आएको बताए ।

मजदुर नेता नारायणबहादुर कुँवरले केन्द्रको नीतिमा भएको कार्यक्रममा सहभागीलाई धन्यवाद दिँदैे मजदुर एकतामा जोड दिए । अन्तक्र्रियामा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य रमेश कोइराला, नेपाल समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य ताराबाबु श्रेष्ठ, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका उपाध्यक्ष धर्मराज अर्याल, नेपाल यातायात लोकतान्त्रिक संगठनका केन्द्रीय सचिव बलराम सापकोटा, मजदुर नेता विष्णु केसी, ट्याक्सी व्यवसायी समिति पोखराका सचिव तुलसी दाहाल लगायतले सरकारले हचुवाको भरमा सस्तो लोकप्रियताको लागि यातायात क्षेत्रमा हात हालेको आरोप लगाए । कार्यक्रममा यातायात मजदुर संघ कास्कीका निवर्तमान अध्यक्ष जीतबहादुर गुरुङले सिन्डिकेटको हवला दिँदै मजदुर र व्यवसायीलाई हतोत्साहित बनाउने काम गरेको बताए ।

वक्ताहरुले खाडी मुलुकमा जान वाध्य पार्ने नीति सरकारले अवलम्बन गरेको आरोप लगाउँदै आर्थिक पक्ष कमजोर बनाएर सरकारले नकारात्मक हल्ला चलाएको आरोप लगाएका छन् । व्यवसायीले कर तिर्न आनाकानी नगरेको उल्लेख गर्दै अन्तक्र्रियामा कमिसनको भरमा भारतबाट नयाँ बस ल्याउने खेल चलेको स्पस्ट पारे । जापानमा ४० वर्ष पूरानो गाडी सञ्चालन हुँदै आएको उदाहरण दिँदै नेपाल र नेपालीको आयलाई हेर्दा त्यस्तो हुनै नसक्ने ठोकुवा गरे । सिन्डिकेट बैंकमा छैन, कहाँ छैन सिन्डिकेट भन्दै सहभागी मजदुरले आक्रोस पोखेका थिए । २ महिना पुग्दा नपुग्दै १० प्रतिशतमा लिएको व्याज १२ प्रतिशत भन्दाचाँही सिन्डिकेट नहुने, बस व्यावसायीको हुने ? भन्दै सरकारको बिरोध गरेका थिए ।