मूल्यबृद्धि विरुद्ध नेविसंघको सिठी जुलुस

पोखरा । नेपाल आयल निगमले पटक पटक गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिको चर्को विरोध गर्दै नेपाल विद्यार्थी संघ कास्कीले वृहत सिठी जुलस प्रदर्शन गरेको छ । मूल्यबृद्धि फिर्ता लिन माग गर्दै सिठी जुलुस प्रदर्शन गरिएको नेविसंघ कास्कीले जनाएको छ ।

नेपाली काँग्रेसको पार्टी कार्यालय चिप्लेढुङ्गाबाट शुरु भएको सिठी जुलुस महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक परिक्रमा गरी वीपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसमा विद्यार्थीहरुले मुल्यबृद्धि फिर्ता गर, ज्यानमारा बालकृष्ण ढुङगेललाई गिरफ्तार गर, वर्तमान सरकार राजिनामा दे, मूल्यबृद्धि छिटो फिर्ता गर जस्ता नारा लगाई मूल्यबृद्धि विरुद्ध गरिएको यो तेस्रो विरोध कार्यक्रम देशैभर गरिएको हो ।

कोणसभालाई सम्वोधन गर्दै नेविसंघ कास्कीका बरिष्ठ नेता तारानाथ अधिकारीले वर्तमान सरकार जनताप्रति जिम्मेवार नभएको बताए । केन्द्रीय सदस्य गोपाल गुरुङले चुनावमा रंगीन घोषणापत्र देखाएर सत्तामा पुगेको र जनतालाई नै ढाड सेक्नेगरी मूल्य बृद्धि तथा दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्य बृद्धि फिर्ता लिन दवाव दिए ।

त्यसैगरी अर्का केन्द्रीय सदस्य देवकृष्ण पराजुलीले केपी सरकार पूर्णरुपमा जनताको विपक्षमा रहेको र अधिनायक लाद्न खोजेको आरोप लगाए । सरकारले गरेको मूल्यबृद्धि तुरुन्तै फिर्ता नगरे नेविसंघले आगामी दिनमा अझ सशक्त र दवावमूलक कार्यक्रम गरी केपी सरकारलाई घुँडा टेकाएर छाड्ने चेतावनी दिए ।

नेविसंघ कास्कीका सभापति विकास थापाले सरकार विधिको शासन र जनताप्रति पूर्ण वफादार नरहेकोले भन्दै पूर्णरुपमा असफल रहेको बताए । हिजो शेरबहादुरको पालामा अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य पटक पटक बढाउँदा समेत सरकारले एकचोटी मात्र बढाएकोमा अनेरास्ववियूले नेपाल आयल निगम घेराऊ गर्ने र आफ्नो सरकारले अन्तर्राष्ट्रिय स्तरमा मूल्य बृद्धि नहुँदा पटक पटक गरी ५ पटक मूल्य बढाउँदा सरकार ठिक हो र आन्दोलनको कुनै औचित्य छैन भन्नु हास्यास्पद रहेको भन्दै तत्काल मूल्य बृद्धि फिर्ता नगरे नेविसंघले देशैभरी थप विरोध कार्यक्रम गर्ने चेतावनी दिए ।

कार्यक्रममा जनप्रिय क्याम्प स्ववियू सभापति आशिक गुरुङ, उपसभापति किशान थापा, नर्सिङ क्याम्पस सभापति अनामिका राज्य लक्ष्मी बस्नेत, संस्कृत क्याम्पसका स्ववियू सभापति तारानाथ पराजुली, पिएन क्याम्पसका विद्यार्थी नेता रेशम हमाल, विद्यार्थी नेताहरु विष्णु तिमिल्सिना, संघर्ष कोइराला, अमृत तामाङ, गोविन्द ढुङ्गाना लगायत विद्यार्थी नेता तथा समर्थकहरको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नेविसंघ कास्कीका नेता राजेन्द्र क्षेत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *