लेकसाइड एफसी र बिष्णुपादुका क्लब सिम्पानी कप फुटबलको फाइनलमा

पोखरा, २८ असोज । सिम्पानी कप फुटबल उपाधिका लागि लेकसाइड एफसी र हेम्जाको बिष्णुपादुका क्लब भिड्ने भएको छ। पोखराको बगरस्थित टुँडिखेल खेल मैदानमा लेकसाइड एफसी र बिष्णुपादुकाले आ–आफनो खेल जित्दै प्रतियोगिताको फाइनल यात्रा गरेको हो।
शनिबार बिहान भएको पहिलो सेमीफाइनल खेलमा लेकसाइड एफसीले एलजी एशोसिएसनलाई ३–१ गोलले हराउँदै फाइनलको स्थान पक्का गरेको हो। लेकसाइडलाई फाइनल यात्रा तय गर्न अबिनास तामाङको दुई गोल र कालु थापामगरको एक गोलको योगदान पर्याप्त रह्यो। एलजीका प्रदिप तामाङले टोलीका लागि एक गोल गरे।
त्यस्तै, प्रतियोगिताको दोस्रो सेमीफाइनलमा हेमजाको बिष्णुपादुकाले संगम फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ को जित निकाल्दै फाइनल पक्का गरेको थियो। निर्धारित समयमा दुबै टोलीको समान एक÷एक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा बिष्णुपादुकाका रोशन केसी, मुकेश श्रेष्ठ, सौगात थापा र अभि कार्कीले गोल गर्न सफल भएका थिए। उता, संगमका बिमल बस्नेत, बेलप्रसाद गुरुङ र शुशिल लामाले टाइब्रेकरमा गोल गर्न सफल रहे भने बिशन गुरुङको प्रहारलाई हेमजाका कीपरले सेभ गरेका थिए। यसअघि, बिष्णुपादुकाका समीर कार्की र संगम एफसीका शुशील लामाले एक÷एक गोल गरेका थिए।
फाइनल शनिबार दिउँसो दुइबजे हुने आयोजक त्रि–शक्ति समाज सेवा क्लबले जनाएको छ।
सेभेन ए साइड फुटबल प्रतियोगितामा हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले दुई लाख तथा उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी, सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताका लागि नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। अनुशासित एक टिमले फेयर प्लेको ट्रफी पाउनेछ।
हिमा–अस एजुकेशनल कन्सल्टेन्सीले प्रतियोगिताका लागि मूख्य प्रायोजन गरेको छ। प्रतियोगितामा २६ टिमको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *