वन विज्ञान अध्ययन संस्थानको डिन कार्यालय फेरि फर्काउने चलखेल

पोखरा । पोखरामा अवस्थित वन विज्ञान अध्ययन संस्थानको डिन कार्यालय फेरि काठमाण्डौमै फर्काउन सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।
उच्च अदालत पोखराले गरेको आदेशपछि पोखरामै रहने फैसला भएको डिन कार्यालय पुनः काठमाण्डौ नै सार्न माग गर्दै संस्थानका डिन कृष्णराज तिवारीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन् । उच्च अदालतको निर्णय दोहो¥याई पुनरावलोकन गरिपाउँ भन्दै सर्वोच्चमा मुद्धा दायर गरिएको हो ।
यसअघि डिन तिवारीले त्रिभूवन विश्वविद्यालय कल्याणकारी परिषदको हवला दिँदै एकलौटी रुपमा डिन कार्यालय काठमाण्डौ सारेका थिए । उक्त निर्णय विरुद्ध १५ नं वडा अध्यक्ष प्रकाश पौडेल र पूर्व वडा अध्यक्ष शिव बहादुर बानियाले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै २०७४ मंसिर ६ गते उच्च अदालत पोखराले संघीय व्यवस्थाको मर्म विपरित डिन कार्यालय काठमाण्डौमा सार्न नहुने फैसला गरेको थियो ।
यसैबीच सर्वोच्चमा मुद्धा दायर भएसंगै पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ का अध्ययक्ष प्रकाश पौडेलले एक विज्ञप्ति प्रकाशित गरी उक्त मुद्धा दायरप्रति आँफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
संस्थानका डिन तिवारीले विगतमा उच्च अदालत पोखराले गरेको निर्णय स्वीकार गरेको भएपनि अहिले एकाएक मुद्धा दायर गर्नुलाई गम्भीर रुपमा लिईएको विज्ञप्तिमा उल्लेख छ ।
डिन कार्यालय पोखरामै राख्नका लागि संघीय सदस्यहरु, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति कास्की, पोखरा लेखनाथ महानगरपालिका, सम्पूर्ण जनसमुदाय, वुद्धिजीवी, पत्रकार, सामाजिक अभियन्ता तथा सरोकारवाला सम्पूर्णमा सहयोगको अपील समेत विज्ञप्तिमार्फत गरिएको छ ।