वाम एकता भत्काउन खोज्नेहरुले जस्तोसुकै षडयन्त्र समेत गर्न सक्ने खतरा : प्रचण्ड

काठमाडौं, ११ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष वाम एकतालाई भत्काउन खोज्नेहरुले जस्तोसुकै षडयन्त्र समेतगर्न सक्ने खतरा औंल्याएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थीभित्रकै समूहहरुलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना औंल्याएका हुन् ।

पार्टी एकता गर्ने पहल शुरु भएपछि बिभिन्न कोणबाट विचार विमर्श भएको बताउनुहुँदै अध्यक्षले एकथरिले बिरोध र अर्कोथरिले समर्थन गरेको चर्चा गरे । “राजनीतिक, वैचारिक, सैद्धान्तिक र जनताको जीवनमा असर पर्ने किसिमले पनि बहस शुरु भएको छ । एकथरिले अनिष्ट शुरु भयो भनेका छन् । अधिनायकवादतिर जान्छ, निरंकुशतिर गयो भनेर एकथरिले भनेका छन् ।” अध्यक्षले भने, “अर्कोथरिले बिल्कुल ठीक भयो, पहिल्यै हुनुपथ्र्यो, तर अब ठीक छ भनेर अनुमोदन गरेका छन् ।

लेखक रामराजा रेग्मीद्वारा लिखित “नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व विकास र सुशासनको जनताको चाहनालाई पुरा गर्ने भन्दै जनताले अनुमोदन गरेपनि यसलाई अनिष्टको संज्ञा दिनेहरुले षडयन्त्र गर्नसक्ने बताएका हुन् ।

“वाम एकताको घोषणाले पैदा गरेको तरंग अरु सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्कोपक्षका लागि नकारात्मक पनि गुणात्मकरुपले ठूलो छ । त्यसैले यी दुई कित्ताका बीचमा कित्ताका बीचमा निकै तीब्र हुने वाला छ । अर्कोतर्फै माक्र्सवादीहरुभित्रका दक्षिण, मध्य उग्र प्रवृत्तिका बीचमा पनि पेचिलो बहस हुने वाला छ ।” अध्यक्ष प्रचण्डले भने “यो बहस बढ्दै जाने वाला छ । मलाई के लाग्छ भने परस्पर बिरोधी कित्ता र आन्दोलनभित्रकै गलत चिन्तन र प्रवृत्तिसँग सम्बन्धितहरुको कुरा गर्दा कहिँ न कतै त्यहाँ अनौठा अनौठा समीकरण देखिन सक्छन् ।”

नेपाली इतिहासमा वैचारिक, राजनीतिक र जनताको तागतको हिसाबले पराजित हुँदा अर्को कित्ताले अन्तिम लडाईं लडन चाहने र त्यो क्रममा माक्र्सवादी आन्दोलनका विचलनकारी शक्तिलाई नै उपयोग गर्ने अध्यक्षले बताए । “यो संघर्षमा जनताको श्रमजीविको जीत हुनेतर्फ अगाडि बढ्यो, स्थायित्व, विकास र समृद्धितिर देश अगाडि बढ्दै गयो भने अर्को कित्तालाई सहने स्थिति नरहनन पनि सक्छ ।” उनले भने, “ नेपालको इतिहासमा यस्ता बिन्दु आउने गरेका छन् । चाहे राणाकालको उदयको कुरा गरौं या पछिल्ला परिघटनाको कुरा गरौं, दरबार हत्याकाण्ड या मदन भण्डारीको हत्यासम्म हेर्दा असह्य भएपछि यस्तो षडयन्त्रमा उत्रिने देखिएको छ ।” उनले अगाडि भने, “परिवर्तनविरोधी अर्को वर्ग र पक्षधरले माक्र्सवादी आन्दोलनका विचलनलाई प्रोत्साहित गर्ने, मलजल गर्ने र त्यही भित्रबाटै लडाई लडने गर्छ । म उपस्थित विद्धान साथीहरुलाई निकै गम्भीर, सकारात्मक र रचनात्मकरुपले विचार गर्न अनुरोध गर्दछु ।”