शुरु भयो जुत्ता चप्पल व्यापार मेला

पोखरा, २७ माघ । शनिबारदेखि पोखरामा दोस्रो सँस्करणको जुत्ता चप्पल व्यापार मेला शुरु भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा भएको जुत्ता चप्पल व्यापार मेलामा पहिलो दिन उपभोक्ताको घुँईचो लाग्यो । शुक्रबार हुने भनिएको जुत्ता चप्पल व्यापार मेला स्थानीय व्यवसायीको अवरोधका कारण एक दिन ढिलो गरि शुरु भएको हो । एक महिना हुने भनिएको जुत्ताचप्पल व्यापार मेला अब एक हप्ता मात्रै चल्ने आयोजकले बताएको छ ।

‘विवाद भएपनि पोखराका उपभोक्ताले हामीलाई निकै राम्रो साथ दिएका छन् । अघिल्लो पटक हामीले गरेको जुत्ता मेलाको प्रभावकै कारण उपभोक्ताहरुले अहिलेपनि हामीलाई यति धेरै साथ दिएको हाम्रो बुझाई छ ।’ नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उनले उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरिय नेपाली उत्पादनका जुत्ताहरु मेलामा विक्रिवितरणका लागि राखिएको बताए ।

त्यसो त जुत्ता मेलामा गुणस्तरहिन जुत्ता राखिने भनेर स्थानिय व्यवसायीहरुले विरोध गरेका थिए । यद्यपी मेला आयोजकले भने मेलामा राखिएका जुत्ताहरु कुनै हिसाबले कमसल नभएको दाबी गरेको छ । उसले मेलामा आएर सहभागी भई उपभोक्तालाई प्रत्यक्ष रुपमा जुत्ताहरुको गुणस्तरको बारेमा जान्न आग्रह समेत गरेको छ । ‘हामीले उपभोक्तालाई कमसल जुत्ता बेचेको खण्डमा हामी त्यसको जवाफदेही हुनेछौँ । त्यसैले उपभोक्ताहरुले ढुक्क भएर यहाँ आएर जुत्ता खरिद गर्न सक्नेछन् ।’ रन शुजका रुद्र न्यौपानेले भने ।

मेलामा विभिन्न ९ कम्पनीका नेपाली जुत्ताहरु प्रदर्शनीसँगै विक्रि वितरणका लागि राखिएको छ । बिएफ डियर हिल, शिखर शुज, रोयल शुज, क्रसरोड शुज, रन शुज, फुटल्याण्ड शुज, कदम शुज र हाइलाइफका जुत्ताहरु मेलामा विक्रिका लागि राखिएको छ । मेला अवधीभर उपभोक्ताहरुलाई कम्पनीहरुले विभिन्न छुटको सुविधा पनि दिएका छन् ।

आयोजक नेपाली जुत्ता घर प्रालिले स्थापनाकालदेखि नै स्वदेशी उत्पादनका जुत्ताहरुको व्यापार गर्दै आएको छ । कुल १० वटा जुत्ता कम्पनीहरु एकै ठाऊँमा भएर स्थापना भएको यो कम्पनीले काठमाण्डौ, पोखरा, बुटवल र विराटनगरमा जुत्ता मेला गर्दै आएको छ । हालसम्म काठमाण्डौमा यो कम्पनीले ५ वटा जुत्ता मेला गरिसकेको छ भने बुटवलमा दुईपटक मेला सम्पन्न गरिसकेको छ । त्यस्तै केहि समय अगाडि मात्रै कम्पनीले विराटनगरमा जुत्ता मेला सम्पन्न गरिसकेको छ । कम्पनीको काठमाण्डौमा ५ वटा र पोखरामा १ वटा शो रुम पनि संचालनमा आईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *