सभामुखको ५३, उपसभामुखको ५० र सभापतिको ४९ हजार तलव पारित

पोखरा, २८ चैत । प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी विधायन समितिको प्रतिवेदन संसदमा प्रस्तुत गरिएको छ । विधायन समितिका सावित्री रानाले प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा बनेको विधायन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन् ।
विधेयकमा सभामुखका लागि ५३ हजार तलव, बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोविल १० लिटर, विल अनुसारको धारा विजुली, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ हुनेछ भने अतिथि सत्कारका लागि ५ हजार रुपैयाँ तोकिएको छ ।
सभामुखले राजपत्र तृतिय श्रेणीका १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी राख्न पाउनेछन् । गाडी र आवास तथा फर्निचरको ब्यवस्था सरकारले नै मिलाउनेछ ।
उपसभामुख, विपक्षी दलका नेता र समितिका सभापतिहरुलाई लगभग समान सुविधाको परिकल्पना गरिएको छ । उपसभामुख र विपक्षी दलको नेतालाई ५० र सभापतिले ४९ हजार तलव पाउनेछन् भने अरु सबै सुविधा समान छ ।
उनीहरुले बैठक भत्ता ७ सय ५०, सञ्चार १ हजार ५ सय, निजी सचिवालय बन्दोवस्तीका लागि १ हजार ७ सय ५०, धारा विजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार हुनेछ । यसबाहेक उपसभामुखले आवास सुविधा पाउनेछन् भने सभापतिले १५ हजार घरभाडा पाउनेछन् । फर्निचरका लागि विपक्षी दलका नेता र उपसभामुखलाई सरकारले दिनेछ भने सभापतिले ५० हजार पाउनेछन् ।
उपसभामुखलाई ईन्धन १ सय लिटर र मोविल ५ लिटर, अतिथि सत्कारको ३ हजार उपलब्ध गराईनेछ । राजपत्र तृतिय श्रेणीको १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी पनि उपसभामुख र विपक्षी दलको नेतालाई दिईनेछ ।
३ हजार रुपैयाँ अतिथि सत्कारको रकम पनि विपक्षी दलका नेताले पाउनेछन् । दलका सचेतक र प्रदेशसभा सांसदहरुको उस्तै सुविधा छ । सचेतकले ४७ हजार र सांसदले ४५ हजार तलव पाउँछन् ।
उनीहरु सबैलाई बैठक भत्ता ७ सय ५०, सञ्चार सुविधा १ हजार ५ सय, आवासका लागि १५ हजार, फर्निचरका लागि ५ बर्षको ५० हजार, धारा बिजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार रुपैयाँ प्रश्ताव गरिएको छ
आगामी बैठकमा छलफल पछि बिधेयक पास हुने छ ।संसद आगामी चैत ३० गते बिहान ११ बजे बस्ने सम्मका लागि स्थगित भएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *